समाचार
७५ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम |
माण्डवी गाउँपालिकाको आर्थिक सहयोग र माण्डवी गाउँपालिका वडा नं. ३ को आयोजनामा ७५ वर्ष माथिका ४७ जना जेष्ठ नागरिकहरुलाई वडा स्तरीय सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि माण्डवी गाउँपालिकाका उपाध्यक्ष श्री मुगा पुनले जेष्ठ नागरिक अनुभवको खानी, संघर्षको ज्यूदो नमुना र भावी पिढीलाई सकरात्मक दिशातर्फ उत्प्रेरित गर्न महत्वपुर्ण योगदान दिनसक्ने व्यक्ति भएकोले उहाँहरुलाई सम्मान गर्न पाँउदा आफू निकै गौरवान्वित भएको बताउनुभयो भने वडा नं. ३ का वडा अध्यक्ष श्री डम्बर बहादुर पौडेलले जेष्ठ नागरिक सम्मान कार्यक्रम वडाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि संचालन गरिएको र आगामी दिनमा पनि निरन्तर संचालन गरिने बताउनुभयो |
वडा नं. ३ का वडा सचिव सपना के.सी को स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा जेष्ठ नागरिकको तर्फबाट इमान सिं पुन , गाउँपालिकाका कर्मचारी सहायक महिला विकास निरिक्षक शान्ता शर्मा , वडा नं. ३ जेष्ठ नागरिक समन्वय समितिका संयोजक श्री रेवती प्रसाद पौडेल लगायतले जेष्ठ नागरिकहरु हाम्रो ज्यूदो इतिहासको रुपमा रहनुभएकोले उहाँहरुलाई सम्मान गर्दै उहाँहरुबाट धेरै कुरा सिक्दै जानुपर्ने बताउनुभयो |
माण्डवी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष डम्बर बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ३ का ७५ वर्षभन्दा माथिका ४७ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा जकेट , स्विटर, गलबन्दी बर्को र पाँच/पाँच सय नगदले सम्मान गरिएको थियो | उक्त कार्यक्रमको संचालन वडा नं. ३ का प्रशासन सहायक दाम बहादुर कार्कीले गर्नुभएको थियो |